आयुर्वेदमा बढ्दो आकर्षण

काठमाडाैं | असार ३२, २०७९

आयुर्वेदमा बढ्दो आकर्षण


काठमाण्डौँ:    पछिल्लो समय आयुर्वेदिक औषधिको प्रयोग र आर्युेवेदिक उपचार पद्धतिमा सर्वसाधारण बिरामीको आकर्षण बढ्दो छ । बागलुङमा रहेका ६ आयुर्वेद औषधालय र तीन नागरिक आरोग्य केन्द्रमा आउने बिरामीको सङ्ख्याले पनि आयुर्वेदिक औषधिको प्रभाव तथा आर्युेवेदिक उपचार पद्धतिमा सर्वसाधारणको आकर्षण बढ्दो देखाएको छ । 

  

 बागलुङको कूल जनसङ्ख्याको १० प्रतिशत सर्वसाधारण चालु आर्थिक वर्षमा आयुर्वेदिक पद्धतिबाट औषधि उपचारका लागि आर्युेवेदिक स्वास्थ्य केन्द्रमा पुगेका छन् । अठ्ठाइस हजार ९३८ बिरामीले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आयुर्वेदिक पद्धतिबाट उपचार सेवा लिएको तथ्याङ्क छ । 

 

बागलुङ नगरपालिकामा रहेको धौलागिरि आयुर्वेदिक औषधालय, बलेवा आयुर्वेदिक औषधालय, जैमिनीमा रहेको दमेक आयुर्वेदिक औषधालय, जैदी आयुर्वेदिक औषधालय, काठेखोला गाउँपालिकामा रहेको बिहुँ आयुर्वेदिक औषधालय र ढोरपाटन नगरपालिकामा रहेको बुर्तिबाङ आयुर्वेदिक औषधालय तथा बडिगाड, बरेङ र ताराखोला गाउँपालिकामा रहेका नागरिक आरोग्य केन्द्रबाट बिरामीले आयुर्वेदिक पद्धतीबाट उपचार सेवा लिएका हुन् । 

  

 यहाँका आयुर्वेदिक औषधालय तथा नागरिक आरोग्य केन्द्रले आफैँले उत्पादन गरेको औषधि र आयुर्वेदिक पद्धतिका प्रचलित विधिबाट बिरामीको उपचार गर्ने गरेका छन् । बागलुङका आयुर्वेदिक औषधालयले आर्थिक वर्ष २०७८÷७९ मा ६६० किलो औषधिको उत्पादन गरेर सर्वसाधारण बिरामीको उपचारमा खर्च गरेका छन् । 

  

 दुई वर्षअघि कोरोना सङ्क्रमणका बेला गुर्जोलगायतका विभिन्न जडीबुटीको सेवनलाई सरकारले प्राथमिकता दिएको थियो । त्यसयता बागलुङमा आयुर्वेदिक औषधिको माग र प्रयोग बढ्दो छ । चालु आवमा मात्रै दमेक आयुर्वेदिक औषधालय जैमिनी–२ दमेकले ३१४ किलो, धौलागिरि आयुर्वेदिक औषधालय बागलुङले ३०६ किलो र बलेवा आयुर्वेदिक औषधालय बागलुङले ४० किलो चूर्ण औषधि उत्पादन गरेका हुन् । 

  

 जिल्लास्थित आयुर्वेद औषधालयको चालु आवको वार्षिक समीक्षा गोष्ठीमा उक्त तथ्याङ्क प्रस्तुत भएको हो । दमेक आयुर्वेदिक औषधालयका प्रमुख डा लक्ष्मीप्रसाद शर्माका अनुसार यो अवधिमा सबैभन्दा धेरै औषधि ग्यास्ट्रिकका बिरामीले लिएका छन् । हाडजोर्नी, नसा च्यापिएको, दीर्घरोगी र अन्य विभिन्न खालका बिरामी औषधिका लागि औषधालय आउने गरेका छन् । 

 

सीमित दरबन्दी तथा साधन स्रोतका बीच आयुर्वेदिक औषधि उत्पादन र वितरणमा काम जिल्लाभरिका औषधालय तथा नागरिक आरोग्य केन्द्रबाट भइरहेको धौलागिरि आयुर्वेदिक औषधालयका प्रमुख सरोजकुमार रायले बताउनुभयो ।

  

 वार्षिक समीक्षा कार्यक्रममा सबै औषधालयका प्रमुखले आफ्नो क्षेत्रमा भएका कामको प्रगति विवरण पेश गर्नुभएको थियो । कार्यक्रममा नगरपालिकाभित्रको बलेवा आयुर्वेदिक औषधालयतर्फका कविराज निरीक्षक हरिप्रसाद पौडेलले प्रस्तुतीकरण गर्नुभयो । 

  

 कार्यक्रममा उपस्थित सबैले सीमित दरबन्दी, कम बजेट र तोकिएको बजेट पनि समयमा निकासा नहुने समस्याबारे बताउनुभएको थियो । कतिपय अवस्थामा बजेट भए पनि अन्यत्र रकमान्तर भएर नआएपछि औषधि खरिद तथा उत्पादनमा समेत समस्या परेको पनि बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले समस्या समाधानमा आफ्नो सहयोग रहने बताउनुभयो । 

काठमाडौं ।  जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।   मुभमेन्टका प्रवक्ता विजय...

थप पढ्नुहोस्

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्